काठमाडौँ । आजदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।
विदेशी पर्यटकका लागि भने छुट्टै शुल्कको व्यवस्था गरिएको छ । सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । त्यस्तै फोटो सुट, भिडियो सुटका लागि पनि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ ।