कोप–२९ सम्मेलन : धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

 दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामनाका निम्ति सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब अमेरिकी डलर र शुक्रबारको मस्यौदामा प्रस्तावित २५० अर्ब अमेरिकी डलरभन्दा बढी हो ।

जलवायु वित्त निर्माणको ‘जग’ तयार : गुटेर्रेस 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अजरबैजानमा आइतबार बिहान भएको जलवायु वित्त सम्झौता पर्याप्त नभएको भन्दै यसलाई जलवायु वित्तको ‘आधार’का रूपमा हेर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले सामना गरिरहेको ठूलो चुनौतीको सामना गर्न वित्त र न्यूनीकरण दुवैमा मैले अझ महत्त्वाकांक्षी परिणामको आशा गरेको थिएँ । यो सम्झौतालाई आधारका रूपमा हेर्दै जलवायु वित्तको आधार निर्माण गर्न म सरकारहरूलाई अपिल गर्दछु ।”

उनले भने, “यो सम्झौतालाई पूर्ण रूपमा समयमै सम्मान गर्नुपर्छ ।” महासचिव गुटेर्रेसले भने, “प्रतिबद्धताहरू चाँडै नगदमा परिणत हुनुपर्छ । यो नयाँ लक्ष्यको शीर्ष–अन्त पूरा गर्न निश्चितताका निम्ति सबै देशहरू एकसाथ आउनुपर्छ ।”

उनले भने, “तापमान वृद्धिको १.५ डिग्रीको सीमालाई जीवित राख्नका निम्ति कोप–२९ मा एक सम्झौता नितान्त आवश्यक थियो र देशहरू यसको कार्यान्वयन गर्न सहमत भएका छन् ।”

कार्ययोजनाहरूलाई जारी राख्नका निम्ति थप दबाब दिने अभियानकर्मीलाई सन्देशका साथ समापन सम्बोधन गर्दै उनले भने, “जीवाश्म इन्धनको युगको अन्त्य अपरिहार्य छ ।”

“संयुक्त राष्ट्रसंघ तपाईंहरूको साथमा छ । हाम्रो लडाइँ जारी छ । हामी कहिल्यै हार मान्दैनौँ,” गुटेर्रेसले भने । रासस/एएफपी

सम्बन्धित समाचार