प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाई थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वभाविक रुपमा अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘बीआरआई स्वभाविक रुपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरु साउथ साउथ कोअपरेसन भित्र यो पर्दछ। यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौं । लाभ लिने गरेका छौं । झन् बीआरआईसँगमा हामी आवद्ध उहिले नै भईसकेका छौं विभिन्न सरकारहरू। त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यक्ता छ । बीआरआईसँग हामी डराएका छैनौं ।’
त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुनेगरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।