राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरेका हुन् । ‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले राजनीति प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गरलगायतका नारा लगाएका थिए ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भनिएको थियो । तर उनलाई अब भोलि (बुधबार) मात्रै काठमाडौं ल्याइने प्रहरीले जनाएको छ । लामिछानेलाई पछिल्लोपटक १५ दिनका लागि अदालतले म्याद थपेको छ ।