आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको छ ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई झिकाउन र मुद्दाको सुनुवाईको प्रक्रिया अघि बढाउन आदेश दिएको हो । अब विशेष अदालतले गरेका फैसलाविरूद्ध सर्वोच्च अदालतमा दुवै तर्फबाट बहस हुने भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्योट प्रकरण र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो । विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा उनी दोषी ठहर भएका थिए भने अकुत सम्पत्ति आर्जनको अभियोगमा सफाइ पाएका थिए ।
कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा दोषी ठहर भएपछि सर्वोच्चमा पुनरावेदन गर्न पुगेका थिए । उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य(सचिव भएर काम गरेका थिए ।
अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।