भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका दम्पतीका छोरीको अभिभावकत्व प्रचण्डले लिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘झाँक्री’ प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावकत्व लिएका छन् ।

मंगलबार प्रचण्डको सचिवालयले यसबारे जानकारी दिएको हो । कागेश्वरी मनोहरा नगरपालिका-२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर प्रचण्डले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने समेत बताएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा-२, आलापोट पुग्नुभयो । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो, उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो ।’

गत कात्तिक २८ गते शंखरापुर नगरपालिका-९, साँखु-थली सडकखण्डमा भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो । भुजेल हाल प्रहरी हिरासतमा छन् ।

सम्बन्धित समाचार