प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिशडाँडामा बैठक बोलाईएको हो ।
बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ । तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेश गर्ने विषय रहेको छ ।
मङ्सिर ४ गते मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो । यस कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए ।
आगामी मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । ४१ पदका लागि हुन लागेको उपनिर्वाचनमा ३७७ जना मैदानमा छन् । माओवादीले उपनिर्वाचनमा एकीकृत समाजवादी र जसपासँग केही स्थानमा तालमेल गरेको छ ।