कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको हत्या नभएको खुलेको छ ।

उदयपुर घर भएकी सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो । अस्पताल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । उनको शव बोकेर हिँड्ने बझाङको बित्थडचिर गाउँपालिका-९ घर भएका २२ वर्षीय कवीन्द्र बोहरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ । बोहराले शव काँधमा बोकेर सडकमा फालेका हुन् । लागुऔषध सेवनकर्ता कवीन्द्र बोहरालाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो ।

नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो ।

पक्राउ परेका कवीन्द्रविरुद्ध यसअघि ९ पटकसम्म विभिन्न कसुरमा मद्दा चलेको थियो ।

के थियो सीसीटिभी फुटेजमा ?

मृतक महिला मदिरा सेवन गर्ने आफूखुसी बसोबास गर्दै हिँड्ने गरेको खुलेको छ । सीसीटीभी फुटेजमा ६ मंसिरको राति ८ बजेदेखि ११ बजे रातिसम्म ती महिला सडकमा वरपर हिँडेको, उभिएको देखिन्छ । ११ बजेपछि भने ती महिला सडकमा सुतेको जस्तो सीसीटीभी फुटेजमा देखिएको थियो ।

त्यसको करिब ४ घण्टापछि ७ मंसिरको बिहानीपख ३ बजेर १७ मिनेट जाँदा हाल पक्राउ परेका कवीन्द्रले ती महिलालाई बोकेर बाटो पार गरेको देखिन्छ । सो क्रममा एक साइकल चालकसँग समेत मल्ल करिब ठोक्किन पुग्छन् ।

उनले महिलालाई उठाएर करिब ४–५ मिनेटको पैदल बाटोमा पुर्‍याएर छाडेको देखिन्छ । महिलाको शव राखिएको ठाउँको सीसीटीभी फुटेज भने नभएकाले मल्लले शवलाई के गरे भन्नेबारे खुलेको छैन ।

सम्बन्धित समाचार