दक्षिण कोरियाको राजधानी सियोल यस वर्षको पहिलो हिमपातसँगै हिउँले छोपिएको छ । मौसम विभागका अनुसार यो सन् १९०७ देखि सुरु भएको रेकर्डयताकै सबैभन्दा धेरै नोभेम्बरमा भएको हिमपात हो ।
बिहीबार बिहान ८ बजे सियोलमा २८.६ सेन्टिमिटरसम्म हिउँ जमेको समाचारमा जनाइएको छ । सन् १९०७ देखि कोरियामा हिमपातको रेकर्ड राख्न थालिएको हो । सियोलमा मार्च २४, १९२२ मा ३१ सेन्टिमिटर हिउँ परेको थियो । जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर र त्यसै वर्षको फेब्रुअरी १ मा २८.६ सेन्टिमिटर हिउँ परेको थियो ।
सियोलको प्रसिद्ध ग्याङबोकगुङ दरबार हिउँले सेताम्मे भएको छ । दरबारमा हिउँ परेको दृश्य हेर्न आएका माकाओका पर्यटकहरू कोरियन परम्परागत हानबोक पोशाक लगाएर तस्बिर खिचिरहेका थिए ।
यस भारी हिमपातले देशभर व्यापक अवरोध पुर्याएको छ । स्थानीय सञ्चारमाध्यमहरूले विमानस्थलका उडानहरू स्थगित गरिएको, सडकहरू बन्द गरिएको, र यातायात सेवामा ढिलाइ भएको रिपोर्ट गरेका छन् । सियोल नजिकै हिउँका कारण भएको सवारी दुर्घटनामा कम्तीमा एक जनाको ज्यान गएको बताइएको छ ।