अस्ट्रेलियाको संसद्ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक बुधबार अस्ट्रेलियाली संसद्का तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो ।
विधेयक पारित भएसँगै अब त्यहाँ १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन पाउने छैनन् । तर यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ ।
यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ । यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ ।
यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिबाना तिनुपर्ने गरी कानुन बनाइएको छ ।