नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।
दायाँहाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–ट्वान्टी आईमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टी–ट्वान्टी आईमा डेब्यू गरेका थिए । उनी स्कटल्यान्डको ओडीआई टोलीको पनि सदस्य छन् । २६ ओडीआईमा उनले तीन शतक र दुई अर्धशतकसहित आठ रन बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुने छ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अस्ट्रेलियाका ब्रान्ड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।