यही मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी युवतीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो।
मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी युवतीको शव प्लास्टिकको बोराभित्र फेला परेको थियो। पछि ती युवती जनकनन्दिनी गाउँपालिका-५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो।
आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए।
रेखासँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए। रेखा र रामललितबीच पाँच/छ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।