पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन् ।
प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।
‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’, उनले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’
उनले अगाडि भनेका छन्, ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’