ज्यान मार्ने उद्योग मुद्दामा फरार चार जना पक्राउ

ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका चार जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रुबीभ्याली गाउँपालिका-४ घर भएका २५ वर्षीय उम्बे गुरुङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका आरोपीहरूले गएको भदौ ३० मा गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’मा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान मार्ने उदेश्यले आक्रमण गरेका थिए । पक्राउ परेका चारजनाकै समूहले उनीहरू बसेको टेबलमा काठ, फलामको कुर्ची, हेल्मेट, रड, र सिसाको बोतलले अन्धाधुन्ध प्रहार गरेका थिए । घाइते द्वय गुरुङ र तामाङलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनीहरू डिस्चार्ज भइसकेका छन् ।

उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

सम्बन्धित समाचार