वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका-७ घर भई ललितपुर महानगरपालिका- १५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका- ७ घर भई काठमाडौं- ७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं- १५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् ।
धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रुपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका- १५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका- ७ बाट तथा चन्द्रलाई काठमाडौं महानगरालिका- १२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।