तीन दिनमा सकियो काठमाडौँमा रवि लामिछानेको बयान, सोधियो ७५ प्रश्न

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत बिहीबार साँझ काठमाडौँ ल्याएर शुक्रबारदेखि बयान थालिएको थियो ।

प्रहरीका अनुसार लामिछानेसँगको काठमाडौँको बयान सोमबार सकिएको छ । उनलाई मंगलबार पोखरा पठाइने छ । कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा उनीसँग बयान लिइएको हो । मंसिर २ गते जिल्ला अदालत काठमाडौंले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंसिर १३ गते काठमाडौं ल्याइएको थियो ।

स्रोतका अनुसार बयानका लागि ७५ वटा प्रश्न तयार पारिएका थिए । जसक्रममा उनले आरोपको इन्कार गरे । सरकारी वकिलको प्रश्नमा उनले स्वर्णलक्ष्मी सञ्चालक समितिको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई आफैं रहेको र उनले नै गोरखा मिडियालाई ऋण दिएको हुन सक्ने जवाफ दिएका हुन् । रवि गोरखा मिडियामा १५ प्रतिशत शेयर प्राप्त गरेका साझेदार र बैंक खातामा हस्ताक्षर चल्ने अखियारीसहितको प्रबन्ध निर्देशक भएका हैसियतले उनलाई ऋणको कानूनी जवाफदेहिताबारे प्रश्न सोधिएको थियो ।

‘स्वर्णलक्ष्मीबाट मैले ऋण लिएको छैन । ऋण ल्याउने व्यक्ति अरू नै हुन्,’ उनले बयानमा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘चेक पनि कम्पनी चलाउनका लागि गरिएको हो । कम्पनीको लागि काम गर्दा कतिपय चेकहरू काटेर खाली छोड्नुपर्ने स्थिति पनि थियो ।’

तर, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ ।

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ ।

ऋण ल्याएको विषय जिबी राईलाई नै थाहा हुने लामिछानेको भनाइ थियो । उनले आफूले कम्पनी छोड्दा गाडी पनि छाडेर हिँडेको दाबी गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ । सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो ।

अब उनलाई सहारा सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन पनि लैजाने तयारी छ ।

सम्बन्धित समाचार