रविको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको दोस्रो खेलमा रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको हो ।

चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो । चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे ।

रवि ५१ रन बनाउँदै क्याच आउट भए । ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे ।

कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा विकेट किपर कुशल भुर्तेलको हातबाट आउट भए । मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

सम्बन्धित समाचार