कतार एयरवेजले भैरहवा उडान रोकेको छ । कतार एयरवेजले गएको कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको थियो । मंसिर १५ देखि उक्त उडान रोकेको हो ।
विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन । कतार एयरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
“कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० ९मंसिर १५० सम्म थियो, नवीकरण गरेको छैन,” उनले भने । भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले उच्चस्तरमा छलफल गरेर निर्णय गर्ने जवाफ पठाएको उनले बताए ।
कतार एयरवेजले काठमाडौँबाट भने दुई उडान गरिरहेको उनले जानकारी दिए । कतार एयरवेजले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आएको थियो । दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) त्रिभुवन विमानस्थल बन्द गरेर स्तरोन्नतिका काम शुरू गरेपछि कतारका दुई वटा उडान कटौती भएका थिए । आधा उडान कटौती भएपछि कतारले एउटा उडान भैरहवालाई टच गरेर काठमाडौँमा गर्दै आएको थियो ।
अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ ।