काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) पनि दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग खेल्दै छ। लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।
लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहन्छ। ५ खेलबाट ६ अंक बनाएर चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहन्छ। जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ। जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले बाँकी तीन स्थानका लागि ५ टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ।
५ खेल हारिसकेको विराटनगर पनि प्लेअफमा पुग्न अझै चामत्कारिक नतिजाको पर्खाइमा छ। तर उसलाई बाँकी चार टोली नै पराजित भएर पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यकपर्छ। यस्तो अवस्थामा रहेको विराटनगर अन्तिम चारबाट बाहिरिएको गणीतीय रुपमा घोषणा हुन मात्रै बाँकी छ।
दिउँसो १ बजे चितवन र विराटनगर भिड्दैछन्। यो खेलमा पराजित भए विराटनगरको गणीतीय सम्भावनापनि पूर्णरुपमा सकिनेछ। विराटनगरले अब दुबै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ। तर चितवनको अन्तिम दुई खेलअघि नै ६ अंक छ। रनरेटमा समेत अगाडी रहँदै तालिकाको शीर्ष ३ मा छ।
अघिल्लो खेलमा कर्णाली विजयी भए र यो खेलमा चितवन विजयी भएमा अन्तिम चारमा पुग्ने भिडन्त थप पछि धकेलिनेछ। तर अघिल्लो खेलमा लुम्बिनी र यो खेलमा विराटनगर विजयी भए सुदुरपश्चिमलाई सहज हुनेछ।
अब लुम्बिनी र जनकपुर बाहेक सबै टोलीले छैठौँ चरणका खेल खेल्दैछन्। यो चरणमा पुग्दा पनि टोलीहरुबिच ८ अंकबाट शीर्ष चार तय हुने कि ६ अंकबाटै भन्ने अझै निश्चित भइसकेको छैन। दाबेदार टोलीले आ आफ्ना खेल जित्दै गए नेट रनरेटका आधारमा मात्रै शीर्ष चारका टोली छुटिने अवस्था बन्दै गएको छ।
यस्तो छ अंक तालिका
कीर्तिपुरमा जारी पहिलो संस्करणको एनपीएलमा पाँच खेलमा जित र एक खेलमा हार भोग्दै १० अंक बनाएको जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
जनकपुर प्लेअफमा निश्चित भएपनि शीर्ष २ मै रहेर प्लेअफ पुग्ने भने निश्चित भइसकेको छैन। अन्तिम चरणका खेलबाट मात्रै यसको छिनोफानो हुन सक्ने अवस्था छ।
जनकपुरभन्दा एक खेल कम खेलेको सुदुरपश्चिम रोयल्स चार खेलमा जित र एक खेलमा हार भोग्दै ८ अंकमा दोस्रो स्थानमा छ।
समान खेल र उस्तै नतिजा निकालेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ। तर नेट रनरेटमा अघि रहँदै चितवन अंक तालिकाको तेस्रो र कर्णाली चौथो स्थानमा छ।
पाचौँ र छैटौँ स्थानमा रहेको काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सको समान चार अंक छ। कर्णाली र चितवनले अबका दुई खेलमा हार भोगे र काठमान्डु र पोखराले जित निकाल्दै नेट रनरेटमा अघि रहे यी दुई टोलीको प्लेअफ पुग्ने सम्भावना पनि उत्तिकै छ। यी दुई टोलीले २ खेलमा जित र ३ खेलमा हार भोगेका छन्।
प्लेअफ दौडबाट बाहिरिएको लुम्बिनी ५ खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा तालिकाको सातौँ स्थानमा छ।
लुम्बिनीभन्दा एक खेल कम खेलेको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ।