अन्तिम खेलमा पनि लुम्बिनी पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो 

नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ । यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ । लुम्बिनीले प्रतियोगिताका सात खेलमा एक जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीसँग लुम्बिनी ५ रनले पराजित भएको हो । जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रनमात्र जोड्न सक्यो । अन्तिम १२ बलमा १५ रन जोड्न नसक्दा लुम्बिनीले सान्तावना जित निकाल्नबाट चुक्यो ।

लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे । सन्दीप जोराले २४ रन बनाए । कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए ।

कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका डेब्यू गरेका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहितले १–१ विकेट लिए ।

सम्बन्धित समाचार