नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स खेल्दैछ । दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
आजको खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ।
जितेको खण्डमा चौथो स्थानमा रहेको कर्णाली याक्ससँग काठमाडौंको अंक बराबरी ८ हुनेछ। कर्णालीले अन्तिम खेल भोलि सुदूरपश्चिमसँग खेल्न बाँकी छ। सुदूरपश्चिमसँग पराजित भए र आजको खेलमा काठमाडौं विजयी भए काठमाडौंको सम्भावना रहन्छ।
काठमाडौं पराजित भएको खण्डमा प्लेअफमा जाने टोलीको आजै टुंगो लाग्नेछ। विराटनगर र पोखरा यसअघि नै लिगबाट बाहिरिसकेका छन् ।
शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिएको हो। लुम्बनी लायन्स त्यो भन्दा अगाडि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।
जनकपुर तालिकाको शीर्ष स्थानमा छ । दुई खेल बाँकी रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन र चौथोमा कर्णाली छ ।