भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुका ८:१५ बजे भक्तपुरको सुर्यविनायक नगरपालिका-१० नालिन्चोक जोरपाटीमा साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई नालीन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको थियो ।
उपचारका क्रममा शनिबार राति ९:४६ बजे उनको मृत्यु भएको हो । मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका -६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनासम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।