नेकपा (माओवादी केन्द्र) ले पुरानो घर फर्किने नेताहरुलाई पुरानै जिम्मेवारी दिने भएको छ । गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णयले पुरानै पार्टीमा फर्किनेहरुलाई लचिलो नीति अख्तियार गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीहरुलाई संयुक्त सर्कुलर जारी गरिसकेका छन् ।
‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र धुर्वीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुर्वीकरणमा जोड दिने । विगतमा एकीकरणरसमायोजनरपार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरणरसमायोजनरप्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको छ ।
अध्यक्ष प्रचण्ड माओवादी घटकसहित अन्य वाम शक्तिहरुलाई एकीकृत गर्ने पक्षमा छन् । सोही नीतिअनुरुप पार्टी छाडेका नेताहरुलाई पुनः फर्किनका लागि लचिलो नीति अख्तियार गरिएको बताइएको छ । माओवादीसँग एकता गर्नको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा तयार छन् ।
पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले त्यसबारे निर्णय गर्ने माओवादीको तयारी छ । त्यसबाहेक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, प्रभु साह नेतृत्वका आमजनता पार्टीलगायत दलसँग पनि एकता गर्ने प्रचण्डको दाउ छ । तर, प्रचण्डले जोडबल गरेपनि तत्काल विप्लव नेतृत्वको नेकपा र नेसपाबाहेक अन्य दलसँग एकता हुने सम्भावना देखिएको छैन ।