बंगलादेशमा जन्तीमाथि चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो ।
तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो । प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुप्रै चट्याङ खसेको थियो ।
बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।
सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो ।
विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।