अमेरिकी राष्ट्रपतिले भने- अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पश्चाताप छैन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चात्ताप नभएको बताएका छन् ।

तालिबानले लगातार अफगास्तिानको प्रान्तीय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकाले अफगानिस्तानलाई गरेको प्रतिबद्धता पूरा गरिरहेको बताए ।

अफगानिस्तानले अझै पनि हवाई सहायता प्रदान, अफगान सैनिकको तलब भुक्तान र सैनिकलाई भोजन र उपकरणको आपूर्ति गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘उनीहरू आफ्ना लागि लड्नुपर्छ ।’ बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गरेका छन् । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना देश फर्किएसँगै तालिबानले अफगानिस्तान आक्रमण बढाएको थियो ।

तालिबानले अहिलेसम्म देशका ३४ मध्ये ८ वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ भने बाँकी पनि कब्जा गर्ने चेतावनी दिँदै आक्रमणलाई निरन्तरता दिइरहेको छ । तालिबानले मंगलबार मात्रै राजधानी काबुलबाट २ सय किलोमिटरको दूरीमा रहेका दुई प्रान्तीय राजधानी कब्जा गरेको छ ।

अफगानिस्तानमा गत एक महिनामा भएको तालिबान र अफगान सेनाको भीषण लडाइँमा परेर १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । लडाइँका बिच बालबालिकाका लागि काम गर्दै आएको एजेन्सी युनिसेफले बालबालिमाथि हुने अत्याचार दिनानुदिन बढिरहेको जनाएको छ ।

अफगानिस्तानमा अझै पनि लडाइँ जारी छ । बाँकी रहेका अमेरिकी सेना र अफगान सेनाले हवाई आक्रमणलाई निरन्तरता दिएको छ । लडाइँ बढेसँगै स्थानीयले घर छाड्न थालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार