अफगान नागरिकलाई देश छाड्न नदिने तालिवानको घोषणा

महिलाहरुलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिवानले थप अफगान नागरिकलाई देश छाड्न नदिने भएको छ ।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन् । उनले भनेका छन्- काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ । विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन ।

मुजाहिदले अफगानहरूलाई विमानस्थल जान नदिनुका दुई कारण रहेको बताएका छन् । एकातिर थुप्रै अफगानहरू विमानस्थलमा जाँदा भागदौड हुने भएकाले उनीहरूलाई बचाउन त्यसो गरिएको उनको तर्क छ भने अर्कातिर तालिवानले इन्जिनियर, डाक्टरजस्ता दक्ष जनशक्ति विदेश नजाऊन् भन्ने चाहेको उनले बताए ।

त्यस क्रममा प्रवक्ता मुजाहिदले विभिन्न पेशा र व्यवसायमा आवद्ध अफगानी महिलाहरुलाई तत्काल कामका लागि घरबाट बाहिर ननिस्कन पनि निर्देशन दिए ।

महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्मका लागि भन्दै उनले घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार