काबुल विमानस्थल बाहिर ठूलो विष्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी

 

अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।

बिस्फोटमा परी हालसम्म १३ जनाको मृत्यु भएको दाबी गरिएको छ। यस्तै घटनामा परि ५० जनाभन्दा बढि घाइते भएका छन् ।  अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ ।

विमानस्थलमा प्रवेश गर्न पर्खिरहेका मानिसहरुको भिडमा विस्फोट भएको रुसको दाबी छ। धेरै देशहरूले दिनको सुरूमा नै मानिसहरूलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका थिए।

विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ । पेन्टागनका प्रवक्ता जोन कर्बीले भने , “काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ ‘।  आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् । अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका थिए ।

अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन् । आफ्नो देश फर्किनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन् । तालिबानले काबुल नियन्त्रणमा लिएपछि यो विमानस्थलबाट ८० हजारभन्दा बढी मानिसलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ ।

अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन्। यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन्। यदि विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन उनीहरूले बुधबार सूचना जारी गरेका थिए। सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको थियो।

सम्बन्धित समाचार