अमेरिकामा आइडा नामको विध्वंशकारी आँधी र बाढीमा परि तीनजना नेपाली सहित ४६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने तीन नेपालीमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी श्रीमति मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो ।
न्युजर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो । न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ ।
अहिले खासगरी पूर्वी तटीय क्षेत्रहरु विभिन्न मौसमी विपतबाट गुज्रिरहेका छन् । आँधीपछि शहरमा बाढी पस्दा अधिकांश घर, व्यवसायीक कम्प्लेक्स तथा अन्य भौतिक पूर्वाधारमा क्षती पुगेको छ । मानिसहरु बेसमेन्ट पार्किङमा आफ्नो सवारी साधनमै अड्किएका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले मौसमी प्रतकुलतासँग जुध्न अहिलेसमकै ठूलो लगानी गर्नुपर्ने बताएका छन् । आँधी प्रभावित राज्यका जनताका लागि संवोधन गर्दै बाइडेनले जलवायु परिवर्तनको कारण हरेक वर्ष मौसमी प्रतकुलता बढ्दै गएको बताए । यसबाट आम मानिसको जिवन रक्षा गर्न ऐतिहासिक लगानि आवश्यक भएको उनको भनाई छ ।