रास्वपाले सार्वजनिक गर्‍याे प्रथम महाधिवेशन तयारी कार्यतालिका

Image

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।

स्वीकृत कार्यतालिकाअनुसार यही १५ जेठसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ । यस्तै, २० जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा ३० जेठसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुनेछन् ।

यस्तै, २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी ५ असारसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।

रास्वपाले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएकाे छ ।