खेलाडी मैदान प्रवेश गर्नु केही मिनेट अघि न्यूजिल्याण्डद्वारा पाकिस्तानसँगकाे खेल रद्द

न्यूजिल्याण्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तानसँगको एकदिवसीय क्रिकेट सिरिज एकपक्षीय रूपमा रद्द गरेको छ ।

पहिलो एकदिवसीय खेल सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्रै सिरिज रद्दको घोषणा भएको हो । पाकिस्तानको पिन्डी क्लब क्रिकेट मैदानमा हुन लागेको खेलका लागि सबै तयारी अवस्थामा थिए ।

खेलाडीहरू मैदानमा निस्किने प्रतिक्षा भइरहेका भेला न्यूजिल्याण्डको निर्णय सार्वजनिक भएको हो । न्यूजिल्याण्ड क्रिकेट बोर्डले वक्तव्य जारी गर्दै मैदानमा रहेका न्यूजिल्याण्डका सुरक्षा सल्लाहकारको सल्लाहमा भ्रमण रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले भने न्यूजिल्याण्डको एकपक्षिय निर्णयमा दुःख व्यक्त गरेको छ । न्यूजिल्यान्ड क्रिकेट बोर्डलाई प्रतिवद्धताअनुसार नै पीसीबी र पाकिस्तान सरकारले भ्रमणमा आएका टोलीलाई कडा सुरक्षा व्यवस्था गरेको थियो ।

न्यूूजिल्यान्ड तीन एकदिवसीय र पाँच टी–२० खेल खेल्न पाकिस्तान पुगेको थियो । भ्रमण रद्द भएपछि न्यूजिल्याण्ड टोली पाकिस्तान छोड्ने तयारीमा छ । यो न्यूजिल्याण्ड टोलीले १८ वर्ष पछि गरेको पाकिस्तान भ्रमण थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार