दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ । सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो ।

गत वर्ष भने ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।  कोभिड सुरु हुनुपुर्वका वर्षहरूमा दसैं तिहारको अवसरमा १५ देखि २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका थिए । कोभिड सुरु भएपछि गत वर्ष भने दसैंका बेला ५÷६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिएका थिए ।  सरकारले चैत २०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि सो वर्ष लकडाउन अगाडी र लकडाउनबीच अवधि गरेर करिब ६-७ लाख मानिस बाहिरिएका थिए ।  राजधानी दैनिकबाट

सम्बन्धित समाचार