साफ च्याम्पियनसिपमा मल्दिभ्सको पहिलो जित

साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाइनल पुग्ने सम्भावना जिवित राखेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमद र अलि अस्फाकले एक एक गोल गरे । यो जितसँगै माल्दिभ्सले २ खेलबाट ३ अंक जोडेको छ । माल्दिभ्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट ६ अंक जोडेको नेपाल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको बंगलादेशको ४ अंक छ । जारी साफमा भारतको निराशाजनक प्रदर्शन भने यथावत छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारत हिजो भएको दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो । लगातार दुई बराबरीपछि उपाधि दावेदार मानिएको भारत दबाबमा आएको छ । प्रतियोगिताको तेस्रो खेलमा भारतले आइतबार नेपालसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार