मुस्ताङ पुग्यो कबड्डी टोली

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए ।

फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले भोलिदेखि काम सुरु गर्ने छ ।

“हामी सबै तयारी गरिरहेका छौं । सबै मिलेमा भोलिबाट छायांकन सुरु गर्नेछौँ,” निर्देशक गुरुङले भने । उनले कबड्डीदेखि नै मुस्ताङको कथालाई देखाउँदै आएका छन् । काजीको प्रेम यात्रा भनिएको कबड्डीको चौथो सिरिजलाई ‘कबड्डी ४ः फाइनल म्याच’ भनिएको छ ।

फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसै वर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्ने छ ।

निर्देशक गुरुङ वितरकहरूसँगको सल्लाहमा मात्र डेट घोषणा गर्ने बताउछन् । “छायांकन सकिएपछि बाँकी काममा लाग्ने समयको अनुमान गरेर फिल्म रिलिज घोषणा गर्ने छौँ,” निर्देशक गुरुङले भने ।

सम्बन्धित समाचार