सोमबार भारतको राजधानी नयाँदिल्लीमा प्रदुषणका कारण एकैदिन १७ जनाको ज्यान गयो । दिल्ली र यसआसपासका क्षेत्रमा यहि कारण सरकारले सरकारी तथा सामूदायिक बिद्यालय बन्द गर्न आदेश दिएको छ । प्रदुषणका कारण बिमानस्थलका उडान प्रभावित छन भने मानिसमा आँखा पोल्ने, श्वासप्रश्वासमा कठिनाई जस्ता समस्या देखिएका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका यस्ता समाचारले राजधानी काठमाण्डौका बासिन्दा दिल्लीमा भन्दा बढि त्रसित छन । नेपालमा भर्खर बर्षात सकिएर हिउँद लाग्दैछ । नेपालीका मुख्य चाडपर्वहरु छठ, तिहार र दशैको बिदाईसँगै राजधानीवासीका दशा शुरु भएका छन । यसो त हरेकबर्ष जस्तै यो बर्षपनि बर्षायामको हिलाम्मे राजधानी हिउँदमा धुलाम्मे हुनु कुनै नौलो होईन । तर धुलाम्मे राजधानीको हावामा बिष बहन्छ भन्ने बुझेपछि पछिल्ला बर्ष राजधानीवासी जब हिउदँ लाग्छ अनि अतालिन थाल्छन ।
बढ्दो मानववस्ती, सवारी साधन र कलकारखानाबाट निस्कने धुँवा र धुलोबाट प्रदुषित हावाले मानव स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्दैछ । अव्यवस्थित भौतिक संरचना, बढ्दो जनसख्या, र अनियमित ढंगले सञ्चालन भएका सवारी साधन र कलकारखानाका कारण उपत्यका मानवस्वास्थ्यका हिसावले जोखिमपुर्ण छ भन्ने पुष्टि हुदैंछ । नेपालभित्र मात्रै होईन उपत्याकाको खस्कदो वातावरणीय अवस्थाबारे बिदेशमा समेत चर्चा हुन थालेको छ । केही बर्ष पहिले अमेरिकाको एक बिश्वविद्यालयले काठमाण्डौ उपत्याका वायुप्रदुषणका दृष्टिले विश्वकै खराब शहरको रुपमा किटान गर्यो । यसअघि बगालादेशलाई दक्षिण एशियाको प्रदुशित शहरको रुपमा चित्रित गरिन्थ्यो यहि अध्ययनले तयार गरेको प्रतिवेदनपछि काठमाण्डौलाई दक्षिण एशियाकै सबैभन्दा प्रदुषित शहरको उपमा दिए ।
काठमाण्डौको वातावरणबारेको यहि तथ्यले मात्रै राजधानीवासी अतालिनुपर्ने थिएन । तर लगत्तै बिश्व प्रदुषण इन्डेक्सले समेत संसारको तेस्रो प्रदुषित शहरको रुपमा काठमाण्डौलाई दर्जा गरिदिएपछि भने काठमाण्डौवासी प्रदुषणको समाचारले अतालिदैंछन । एक त पहिलेदेखी नै मानिसको चाप, अव्यवस्थित शहर र सवारी साधनबाट आउने प्रदुषणका कारण काठमाण्डौ धुलो र धुवाले निसास्सिने शहरको रुपमा कहलाउँदै थियो । त्यसमाथी महाभूकम्पले भत्काएका राजधानीका संरचना र यसबाट उत्पन्न धुलोका कारण राजधानीमा मास्क बिना निस्कनै नसक्ने अवस्था छ । शहरमा बढेको प्रदुषणबाट श्वास नै फेर्न नसक्ने अवस्थामा पुगेका शहरवासीहरु मास्क लगाएरै निस्केपनि प्रदुषणबाट जोगिने अवस्थासमेत टरेको छ ।
बिज्ञहरु भन्छन्, “अहिलेको घातक वायुलाई मास्कले समेत छेक्न सक्दैंन । अहिले उपत्यकाको हावामा अत्यन्तै सानो प्राणघातक कण पिएम २.५ छ जसले मानवस्वास्थ्यमा गम्भिर आघात पुर्याउन सक्छ ।”
मास्कले समेत छेक्न नसक्ने यि कणहरुले हावाका माध्यमबाट फोक्सो हुदैं रगतमा पुगेर मानवस्वास्थ्यमा असर गर्ने चिकित्सकहरु बताउँछन । जसको कारण उपत्याकाको हावा सामान्य मापदण्डभन्दा आठ गुणा बढि खतरा छ ।
उपत्याकाको वातवरण यसरी दिन प्रतिदिन जोखिमपुर्ण बन्दै जानुमा सरकार र सरोकारवाला निकायको उदासिनता भएको आम सर्वसाधरणको बुझाई छ । बढ्दो जनसंख्याको चापलाई नियन्त्रण गर्न नसक्नु, अति प्रदुषणयुक्त सवारी साधनको नियन्त्रण गर्न नसक्नु, उद्योग कलकारखानाबाट उत्पन्न प्रदुषणनियन्त्रण गर्न तर्फ ध्यान नजाँदा उपत्यकाको वातावरण दुषित भएको उनिहरुको आरोप छ । यसो त सरकारले राजधानीको वातावरणिय सुरक्षाको लागी दिर्घकालिन रणनीति तय गर्न नसक्नु तथा सरकारी तहबाट बनेका न्यून मापदण्डलाई समेत कार्यन्वयन गर्न नसक्नुले राजधानीको हावामा बिष भरिदैं गएकोमा थोरैको बिमति होला । तर सरकारलाई मात्रै दोष लगाएर उपत्यकाबासी उम्कने अवस्था नरहेको बताउनुहुन्छ, पूर्व वातावरणमन्त्री गणेश शाह । उपत्यकामा बस्ने मध्ये चौथाई जनसख्यामात्रै वातावरणिय सुरक्षाका बिषयमा सचेत भईदिने हो भने उपत्याकाको प्रदुषण आधा नियन्त्रण हुने उहाँको बुझाई छ । ठुला कलकारखाना र सवारी साधनमात्रै होईन सामान्य अफिस र घरमा चल्ने जेनेरेटरबाट निस्कने धुवाँले समेत उपत्याकाको वायुप्रदूषणले ठुलै हिस्सा ओगटेको छ । यस्ता कुरामा उपत्यावासी आफैँ सचेत हुनुपर्ने शाह वताउनुहुन्छ ।
वातावरणिय क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्था, राष्टिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकाय र जनस्तरबाट समेत वातावरणीय सुरक्षाको क्षेत्रमा सरकारले उदासिनता प्रकट गरेको आरोप लाग्न थालेपछि भने सरकार केही सक्रिय देखिन थालेको छ । यस्ता गुनासा बढेपछि सरकारले वातावरणीय प्रदुषणको अवस्था बुझ्न स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्याकाका बिभिन्न ३ स्थानमा वायुमापक यन्त्र राखि एकवर्षसम्म अध्ययान गर्यो । काठमाण्डौको पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान र भक्तपुरको जगातीमा १ बर्ष सम्म राखिएको यो यन्त्रले समेत उपत्याकामा प्राणघातक कण रहेको निचोड निकालेको थियो । जुन सरकारीस्तरबाट भएको वायुप्रदुषणको क्षेत्रमा नेपालको पहिलो र बिस्तृत अध्ययन थियो । यहि अध्ययनले हावामा अरु महिनामा कायम २.५ प्राणघातक पिएम मंसिर पुष र माघमा भने ४२.२ र ८५.५ सम्म पुगेको देखाउँछ । यसमा पनि अन्य समयमा भन्दा बिहानको समयमा यो कार्वन अझै बढि हुने देखिन्छ । यस आधारमा उपत्यकाको बिहानीको यात्रा (मर्निङ वाल्क) स्वास्थ्यका दृष्टिले झनै खतरा देखिएको छ ।
नेपालमा मात्रै होइन बिश्वभर बातावरणिय प्रदुषणकै कारण हरेक बर्ष मर्नेहरुको संख्या डरलाग्दो छ । विश्वभर वातावरणिय प्रदुषणका क्षेत्रमा काम गर्ने संस्थाहरुले गरेको अनुसन्धानलाई आधार मान्दा प्रदुषित वायुकै कारण सामान्य मानिसको आयू औषतमा १५ बर्षले कमि आउँछ । दुषित हावाका कारण फोक्सो तथा मुटुको रोग, छालाको क्यान्सर, एलर्जी जस्ता रोगहरु लाग्ने उल्लेख छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा औसतमा हरेक बर्ष ५५ लाख मानिस यहि कारण ज्यान गुमाउँछन । नेपालमा यहि कारण कतिले ज्यान गुमाउँछन भन्ने विश्वासिलो तथ्य नभएपनि चीनमा हरेक बर्ष ५ लाख र भारतमा बिश्वको सबैभन्दा बढि यहि कारण ज्यान गुमाउने गरेको तथ्यले नेपालमा यो संख्या डरलाग्दो छ भन्ने अनुमान लगाउँन कठिन छैन । छिमेकी मुलुक चीनका कारण हिमाली क्षेत्रको हिऊ पग्लदै जानु र भारतबाट छिरेको प्रदुषणका कारण तराई क्षेत्रमा महिनौ ढाक्किने तुवाँलोले अनुमानलाई थप पुष्टि गर्दछ ।