अफ्रिकी मुलुक घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान भएको छ। सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
मोबाइलमार्फत् गरिने कारोबारहरूमा १.७५ प्रतिशत इ-लेबी राख्ने विधेयक सत्तारूढ दलले पेश गरेको छ। तर प्रतिपक्षी दलले त्यसको विरोध गर्दै आएको छ।
उपसभामुख जोसेफ ओसेइ-ओवुसुले सदनमा करसम्बन्धी विधेयकमा छलफल हुने र मतदान हुने बताएका थिए। उनले विधेयकको पक्षमा मतदान गराउन खोजेको भन्दै सासंदहरू उपसभामुखको चेम्बर अगाडि जम्मा भएका थिए।
त्यत्तिकैमा केही सासंदहरूले धकेलाधकेल र मुक्का हानाहानसमेत गरेका थिए।