लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।
पाखा बारीभरी लगाएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप नै भइसकेका अवस्थामा जिल्लाकै पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेँसीका स्थानीयवासीले भने खुदोसँग जोडिएको गाउँको इतिहास फर्काउने सोचमा छन् ।
खुदो उत्पादनमा पहिचान बनाइसकेका मालेपाटन र ढोडबेँसीमा विगतमा जस्तो उखु खेती नभए पनि दुई सय वर्ष अघिदेखिको खुदोसँग जोडिएको गाउँको इतिहास र पहिचानलाई पछिल्लो पुस्ताले कायमै राख्न चाहेको स्थानीयवासी एवं मालेपाटन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद वाग्लेले बताए ।
उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि उखुखेती गर्दै आइएको छ । विशेषतः पुस १५ (पुसे पन्ध्र)मा लट्टे (घ्यू र खुदो हालेर पकाइएको अनदीको चामलको परिकार) का साथै माघे सङ्क्रन्तिमा खुदो र चिउरा खाने प्रचलनका कारण पनि यो समयलाई खुदोको सिजनका रुपमा लिने गरिएको छ । यस समयमा विगतमा यही मालोपाटन र ढोडबेँसीको खुदो कास्की र आसपासका जिल्लामा गाग्रीमा बोकेर बेच्न लगिन्थ्यो । यहाँको खुदो भनेपछि विगतमा नै खोसाखोस हुने गरेको यहाँका बुढापाका बताउँछन् । समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँगाउँ पु¥याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गएपनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिए ।
उनका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको हो । “सहकारी स्थापनायता खुदो र दूधको उत्पादन एवं बजारीकरणमा सहकारी स्वयम् आवद्ध छ”, उनले भने, “सहकारीमार्फत बाख्रा, कुखुरापालन लगायतमा किसानलाई ऋण सहयोग उपलब्ध गराइएको छ ।” खुदो र दूधका लागि सहकारीले वार्षिक रु चार÷चार लाख छुट्याएको छ ।
मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ६०÷७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको बताउने स्थानीय किसान विष्णुप्रसाद बसौलाले पछिल्लो वर्षमा उखुमा देखिएको रोगका साथै कृषिप्रतिको अनिच्छाका कारण पनि यो खेती कम हुँदै गएको बताए । यस क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । उहाँका अनुसार बीउ लगाएको एक वर्षमा उखुको लाक्रा काट्नका लागि तयार हुन्छ । काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । उक्त रसलाई करिब पाँच घन्टा पकाएपछि खुदो तयार हुन्छ ।
यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तलसी तिमिल्सिनाले जानकारी दिए ।
मालेपाटन र ढोडबेँसीको नाममा अन्य स्थानको खुदो पनि बजारमा बिक्री हुन थालेपछि यहाँको पहिचानलाई जोगाउन पोखरा महानगरपालिकाको सहयोगमा हालै यहाँको खुदो ब्रान्डिङ गरिएको छ । ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटर परिमाणको बोतल हालै बजारमा आएको छ । गुणस्तर परीक्षणसहित सिलबन्दी गरिएको खुदोको खुद्रा मूल्य रु ३५० निर्धारण गरिएको छ ।
महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको जानकारी दिए । यहाँको खुदोको ब्राण्डिङका साथै प्रविधिलगायतमा महानगरपालिकाले रु तीन लाख ५० हजार विनियोजन गरेको उनको भनाइ छ । उखु खेतीमा लाग्ने गरेको किराका कारण उत्पादनमा हस आएको र यसले स्थानीयवासीलाई चिन्तित बनाएको स्थानीयवासी समाजसेवी तारानाथ रिजालले बताए ।
विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको उनले बताए । उखुमा लाग्ने गरेको उढुवा, ढुसीजन्य रोगले उत्पादनमा हस आएको बताउँदै उनले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताए । “राज्यबाट निरन्तरको साथ र सहयोग भएमा यहाँका स्थानीयवासी खुदोसँग जोडिएको इतिहास र पहिचानलाई जोगाउन इच्छुक छन्”, उनले भने ।