नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । १४औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा विधानअनुसार सदस्यहरू मनोनीत गरेर सभापति देउवाले समिति गठनको तयारी गरेका हुन् ।
कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता स्वतः कार्यसम्पादन समितिका सदस्य हुनेछन् । तर, अहिले कोषाध्यक्ष र प्रवक्ता नियुक्त भइसकेका छैनन् । त्यस्तै, सभापतिले ३१ केन्द्रीय सदस्यहरूलाई कार्यसम्पादन समितिमा अनुमोदन गर्न पाउँछन् ।
कार्यसम्पादन समितिका लागि सभापति देउवाले पदाधिकारीबाहेकका १३५ केन्द्रीय सदस्यमध्ये ३१ जनामा कसलाई रोज्छन् भन्नेमा कांग्रेसभित्र चासोको विषय बनेको छ । सभापति देउवाले महाधिवेशनमा सघाएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, र शंशाक कोइरालालाई समितिमा समेट्न सक्ने नेताहरुको अनुमान छ ।
त्यस्तै, वरिष्ठता तथा लोकप्रिय र सक्रिय नेताहरुका आधारमा मनोनयन गर्दा सभापति देउवाले शेखर कोइराला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, उदय शमशेर राणा, जितजंग बस्नेत, नैनसिंह महर, डा.डिला संग्रौला, मीन विश्वकर्मा, चित्रलेखा यादव, अर्जुननरसिंह केसीलगायत नेतालाई समेट्न सक्नेछन् ।
कार्यसम्पादन समिति केन्द्रीय समितिभन्दा सक्रिय र कार्यकारी समिति हुनेछ । यो समितिको बैठक हरेक महिना एक पटक अनिवार्य बस्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम गर्ने व्यवस्था विधानमा छ । कार्यसम्पादन समितिले पार्टीका विभागको कामको समीक्षा पनि गर्ने छ । त्यस्तै समितिले आफ्नो निर्णय केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्ने काम कार्यसम्पादन समितिले गर्ने छ ।