चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो । युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन् ।

तर यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ । कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन् । यसका अतिरिक्त उनीहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको द्धिपक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयले उक्त द्धिपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ । -सिन्हवा

सम्बन्धित समाचार