रुस-युक्रेन तनाव : शिखर सम्मेलनका लागि बाइडेन तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकटमाथि शिखर सम्मेलनका लागि तयार भएका छन् । रुसले युक्रेनमाथि हमला नगर्ने सर्त अघि सारेर अमेरिकी राष्ट्रपति बाइडेन सम्मेलनका लागि तयार भएका हुने । यो शिखर सम्मेलनको प्रस्ताव फ्रान्सले राखेको हो ।
यो वार्तामा युरोपमा उब्जिएका सुरक्षा संकटको विषयमा कुनै कुटनीतिक समाधानको विषयमा प्रस्ताव राख्न सकिनेछ ।

अमेरिकी गुप्तचर सूचनाका अनुसार रुस युक्रेनमाथि हमलाका लागि तयार छ । यद्यपि, रुसले यसलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ताको प्रस्ताव फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र रुसी राष्ट्रपति पुटिनबीच फोनमा भएको कुराकानीपश्चात् सार्वजनिक भएको हो । दुई राष्ट्रपतिबीच तीन घण्टासम्म कुराकानी भएको थियो ।

यो तीन घण्टाको वार्ता दुई पटक भएको हो । दोस्रोपटक रुसी समय अनुसार सोमबार बिहान भयो । म्याक्रोंले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि १५ मिनेट कुरा गरेका छन् । फ्रान्सको राष्ट्रपतिको कार्यालयका अनुसार सम्भावित सम्मेलनको विस्तृत विवरणका लागि बिहिबार अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन र रुसी विदेशमन्त्री सर्गेई लावरोफबीच बैठक हुनेछ ।

सम्बन्धित समाचार