पूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता
संयुक्त राष्ट्रसंघले गर्यो निन्दा
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनमा स्वघोषित क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । ती दुवै क्षेत्रलाई रुसी समर्थक विद्रोहीहरूको वाहुल्य भएको राज्यको रुपमा चिनिन्छन् । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।
गत राति मस्कोमा त्यस सम्बन्धी घोषणामा हस्ताक्षर गर्दै राष्ट्रपति पुटिनले रुससँग सीमा जोडिएको त्यस क्षेत्रमा ‘शान्ति स्थापना’ गर्न सैनिक परिचालन गरेका छन् ।
पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् ।
रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ । न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बस्दैछ ।