काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।
यस भन्दा पहिले सात दिनको म्याद थप भएको थियो। अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। अब पल शाह थप १२ दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ।
भोलीबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए । नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।
न्यूनतम २५ दिनभित्र र अधिकतम ३५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। तर यो अवधि अनुसन्धानका लागि समय चाहिएको हकमा मात्र हो। अनुसन्धान सकिएको अवस्थामा प्रहरीले जुनसुकै दिन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव पठाउन सक्छ।