अनुहारको चायापोतो हटाउने घरेलु उपचार

काठमाडौं । अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिहार्छ । कालोपोतोले कतिपय मानिसहरु मानसिक समस्यामा समेत पर्ने गर्छन ।गाला, आँखाको छेउछाउ देखिने कालो पोतो (चाया) ले मानिसको आत्मविश्वाससमेत डगमगाइ दिन्छ। मनोवल कमजोर बनाइदिन्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि मानिसले अनेक प्रकारका उपाय अपनाउँछन् । कतिपय उपायले काम गर्दछ त कतिपय उपायले पोते हटाउनुको साटो उल्टै समस्या बढाउछँ ।

छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ। छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने कोशिकाले मेलानिन भन्ने तत्त्व उत्पादन गर्छ। मेलानिन घाम तथा अन्य कृत्रिम प्रकाशमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन छालाको सतहमा फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ। धेरै कम मानिसमा मात्र घामको किरणले पनि मेलानिन सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो। जाडो महिनामा घाममा बढी समय बसिने भएकाले यो मौसममा चायापोतो धेरै देखिन्छ।

तपाईंले आफ्नो अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ। मेलानिन भन्ने तत्त्व आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा पनि असर गर्ने भएकाले लाइटबाट छालालाई जोगाउने उपाय अपनाउँदा मात्र चायापोतोको समस्याबाट बच्न सकिन्छ।

अनुहारको विशेष ख्याल गर्दागर्दै चाया, पोतो, डन्डीफोर, दाद, छाला डढ्ने जस्ता समस्याले सताइरहन्छ। उपचारका लागि धेरै ठाउँमा भौतारिँदा पनि चायापोतोको समस्याबाट छुट्कारा पाउन गाह्रो हुन्छ। चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि नै प्रभावकारी हुन्छ। यसका लागि भान्सामै उपलब्ध सामग्री प्रयोग गर्न सकिन्छ। यसबाट शरीरमा कुनै साइड इफेक्ट हुँदैन। ती विधि यस्ता छन् ः

पहिलो विधि
१) सबैभन्दा पहिले मनतातो पानीमा नरम कपडा भिजाउनुहोस्। त्यसलाई निचोरेर अनुहार पुछ्नुहोस् वा मनतातो पानीको बाफ लिनुहोस्। यसो गर्दा छालाको पोर्समा भएको फोहोर हट्छ।
२) मनतातो पानीले अनुहारमा स्टिम गरेपछि एउटा टमाटरलाई दुई टुक्रा पार्नुहोस्। एउटा कचौरामा दुई चम्चा चिनी राख्नुहोस्। टमाटरको एउटा टुक्रा चिनीमा चोपेर आफ्नो स्किनमा हलुकासँग १० मिनेटसम्म मसाज गर्नुहोस्। यसले स्क्रबको पनि काम गर्छ। चिनीमा स्किनलाई आवश्यक पोषकतत्व हुन्छ। चिनीले मरेको छालालाई जगाउँछ, यसले चायापोतो हटाई अनुहारमा ग्लो ल्याउन मद्दत गर्छ। मसाज गरेपछि अनुहार फेरि सफा गर्नुपर्दैन।

३) घरमै बनाइएको फेस प्याकले पनि चायापोतो हटाउन सकिन्छ। फेस प्याक बनाउन एउटामा कचौरामा एक चम्चा बेसन र मह राख्नुहोस्। यसमा आवश्यक अनुसार काँचो दूध राखी एउटा टमाटर निचोरेर घोल्नुहोस्। तयार भएको पेस्ट अनुहारमा बिस्तारै लगाउँदै पाँच मिनेटसम्म मसाज गर्नुहोस्। अनुहारमा पेस्ट ३० मिनेटसम्म राख्नुपर्छ। यसपछि कपडा चिसो पानीमा भिजाएर हल्का मसाज गर्नुहोस्। पाँच मिनेटपछि फेरि काँचो दूधमा कपास वा नरम कपडा भिजाएर पुछ्नुहोस्। यसो गर्दा चायापोतो हटेर घामले डढेको जस्तोसुकै छालामा गोरोपन ल्याउँछ।

दोस्रो विधि
१) एउटा प्लेटमा दुई चम्चा टमाटरको पेस्ट र एक चम्चा काँचो दूध राखेर राम्ररी घोल्नुहोस्। पेस्ट पाँच मिनेटसम्म अनुहारमा लगाउँदै हलुकासँग मसाज गर्नुहोस्। यसपछि चिसो पानीले अनुहार धुनुहोस्। फेस प्याक तयार गर्न एउटा कचौरामा एक चम्चा चामलको पिठो, एक चम्चा टमाटरको पेस्ट, आधा चम्चा बेसार र एक चम्चा मह मिसाएर राम्ररी घोल्नुहोस्। ओइली स्किनका लागि अलिकति कागतीको रस मिसाउँदा राम्रो हुन्छ। पोतोका लागि तुलसीको बीज पनि मिसाउन सकिन्छ। यसरी तयार भएको पेस्टलाई बिस्तारै हलुकासँग अनुहारमा लगाएर २० मिनेटसम्म राख्नुहोस्। यसपछि चिसो पानीमा भिजाइएको कपडाले बिस्तारै पुछ्नुहोस्। यसपछि अनुहारमा ताजापन ल्याउँछ। हल्का स्किनमा ड्याब गरेर अन्त्यमा मोस्चराइजर क्रिम अथवा सन्सक्रिम लगाउनुहोस्। यसरी लगातार सात दिनसम्म फेस वास गर्नुहोस्।

२) बजारिया सामग्रीले छोटो समयमै चायापातो हटाए पनि केही समयपछि उस्तै समस्या देखिन्छ। घरेलु सामग्रीबाट बनाइएको फेसियल नै धेरै प्रभावकारी हुन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार