धवलागिरिमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

काठमाडौं । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गाउँपालिकाको सहजीकरणमा आयोजित शिविरबाट २५० जनाभन्दा बढीले सेवा लिएका छन् ।

शिविरमा दीर्घरोगी, नशा, बाथ, पायल्स, कब्जियत, नशा च्यापिएको, युरिक एसिड, जण्डिस, दम, उच्च रक्तचाप, मधुमेह, स्त्रीरोगलगायत बिरामीको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको कार्यालयका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिए ।

शिविरमा बिरामीलाई नियमित औषधि सेवन तथा स्वस्थ रहन आवश्यक दैनिकी, खानपिनका बारेमासमेत जानकारी गराइएको थियो । कार्यालयका निमित्त प्रमुख दामोदर शर्मा, आयुर्वेद चिकित्सक सन्देश अधिकारीसहितको टोलीले सेवा प्रदान गरेको थियो ।

शिविरमा ताकम, मुना, लुलाङ, मुदीलगायत क्षेत्रबाट बिरामी स्वास्थ्य जाँच गर्न आएका थिए । बिरामीको उपचारमा स्थानीय जनप्रतिनिधिसहितको टोलीले सहयोग गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार