युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन्। रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन्।
किएभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जेनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा जानकारी गराएका छन्।रुसी जेनरल मारिएको युक्रेनी दाबीलाई बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन। मस्कोले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
जेरास्चेन्कोले मारिएका जेनरलको भनिएको तस्बिर समेत पोस्ट गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जेनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन्।
रुसले युक्रेन आक्रमणमा २० जना जेनरलहरूको नेतृत्वमा सेना खटाएको बताइएको छ।