पल-गायिका प्रकरण : अनुसन्धान अन्तिम चरणमा, फाइल पुग्यो सरकारी वकिलको कार्यालय

काठमाडौं । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको अभिनेता पूर्ण विक्रम शाह (पल शाह) माथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अहिले अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पठाइएको छ । नवलपरासी पूर्वमा परेको जाहेरीको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाइएको बताइएको छ ।

प्रहरीले बुझाइएको फाइल अध्ययन गरेर सरकारी वकिल कार्यालय नवलपरासीले बिहीबार जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ताको तयारी गरेको छ। पीडित नाबालिगका पिताले बलात्कारको मिति तोकेर जाहेरी दिएपछि मुलुकी फौजदारी अपराध संहिताअनुसार एक वर्षको हदम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गर्न लागेको हो।

गत वर्षको चैत ७ गते ती गायिकामाथि बलात्कार गरेको जाहेरीमा दाबी गरिएको थियो। शुक्रबार तराईमा होलीको सार्वजनिक बिदा र त्यसको भोलिपल्ट शनिबार भएकाले भोलि बिहीबार नै मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाइ छ। शाहविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हदम्याद चैत ६ गतेसम्म भएकाले बिहीबार नै मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार