काठमाडौँ । विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’विमोचन भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकको वरिष्ट साहित्यकारद्वय पूर्व प्रा। डा। गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा। सुरेन्द्र सिटौला, समालोचक साधना प्रतिक्षा र महेश पौडेललगायतले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
पुस्तक विमोचनपछि पूर्व प्रा। डा। भट्टाराईले विश्विद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए । उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए । करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको उनको भनाइ थियो ।
समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउँने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए ।समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम वौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।
त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोबिन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त्त लेखकको जन्म भएकोमा बधाइ दिए ।
लेखक विमल सिटौलाले विश्वविध्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात यो उपन्यास लेख्न सुरु गरेको बताए। आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।
पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।