काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई विद्यालय जानबाट पुनः रोक लगाएको छ । अन्तर्राष्ट्रिय समुदायको चर्को विरोधपछि तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुनुभन्दा केही घण्टाअघि निर्णय नै रद्द गरिएको हो ।
‘छात्राहरूको पढाइ हुने सबै विद्यालयमा अर्को आदेश जारी नभएसम्मका लागि अध्ययनमाथि रोक लगाइएको छ,’ शिक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक अधिकारीले छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने बताएका छन् । यद्यपि, ती अधिकारीले निर्णय किन रद्द गरियो भन्नेबारे केही उल्लेख गरेका छैनन् । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुसी भएकाहरू अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् ।
अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका छन् । उनीहरूको दबाबका कारण तालिवान उच्च अधिकारीहरूले महिलाहरूको अधिकार पुनर्बहाली हुने दाबी गर्दै आएका थिए ।