म्याद गुज्रिएको औषधि बेच्ने अस्पताललाई २ लाख जरिवाना

कैलालीको धनगढीको नवजीवन अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको पाइएको छ । धनगढी उपमहानगरपालिका–४ रातोपुलमा रहेको अस्पतालले एक बालकलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको हो । अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरूले उजुरी दिएपछि अस्पतालको यो बदमासीको खुलासा भएको हो । विरामीको आफन्तको उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन पनि गरेको थियो ।

अनुगमनपछि अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको पाइएको कार्यालयले जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललितप्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए ।उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए । यस्तै, ती बालकलाई डेढ वर्षसम्म अस्पतालले निःशुल्क उपचार गर्ने सहमतिसमेत भएको छ । अस्पतालले पनि म्याद गुज्रिएको औषधि गएको स्वीकार गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार