मानिसको रगतमा प्लास्टिक भेटियो

विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो ।

वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अनुसन्धानका अनुसार मानिसको रगतमा माइक्रोप्लास्टिकको उपस्थितिबारे अनुसन्धान गर्ने विश्वको पहिलो अध्ययनले परीक्षण गरिएका ७७ प्रतिशतमा कण फेला पारेको छ ।

माइक्रोप्लास्टिक भनेको ०.२ इन्च (५ मिलिमिटर) भन्दा कम प्लास्टिकको सानो टुक्रा हो। यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ । रगतमा पुगेको प्लास्टिकले के–कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पुर्याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

मान्छेले खाना, पानी र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सन् २०४० सम्म अहिलेभन्दा दुई गुणाले बढी प्लास्टिक उत्पादन हुने प्रक्षेपण चलिरहेको बेला मानिसको रगतमै प्लास्टिक पुग्ने कुरा अझ बढी जोखिमयुक्त भएको वैज्ञानिकहरूले बताएका छन् । –एजेन्सी

सम्बन्धित समाचार