युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् । स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएका हुन् ।
सन् २०१४ मा युक्रेनमा तत्कालीन रुस समर्थित राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनपश्चात युक्रेनको रुसी भाषीको बहुलता रहेको पूर्वी क्षेत्रमा लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र गरी दुई स्वघोषित ‘राज्य’ स्थापित छन् । रुसले दुबै ‘राज्य’ हरुलाई समर्थन गर्दै आएको छ ।
रुसले यी दुबैलाई गत २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुपूर्व २१ फेब्रुअरीमा स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ ।
यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेपछि पनि जनमत संग्रहको आयोजना गरेको थियो । उक्त जनमत संग्रहमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको नतिजा आएको दाबी गर्दै रुसले क्राइमियालाई आफूमा गाभेको थियो । यद्यपि विदेशी पर्यवेक्षकले भने जनमत संग्रह अत्यन्त धाँधलीपूर्ण रहेको बताएका थिए ।